“म त अहिले मज्जाले स्याट अनि टोफेल दिनमा व्यस्त भएको छु ।”, पुतलीसडकको व्यस्त सडकमा बुधबारको दिन हिँड्दै गरेका दुई युवकबीच भएको कुराकानीको एउटा सानो अंश हो यो । यस्ता युवा युवती अहिलेको समयमा पुतलीसडक, जावलाखेल वरपर छ्याप्छ्यप्ती भेट्न सकिन्छ । ‘स्याट’, ‘टोफेल’ भनेका विदेश जानका लागि गरिने विशेष भाषिक पूर्व तयारीका कक्षा हुन् । नेपालबाट पढाइका लागि भनेर विदेश जाने चलनको विकास भएको धेरै भएको छैन । अहिलेको परिस्थितिमा कक्षा १२ सकाउन साथ युवापुस्ता विदेश जानका लागि तम्तयार रहन्छन् र सोही अनुरुपको तयारी पनि गर्छन् । कक्षा १२ को परीक्षा सकिनासाथ विद्यार्थीहरु टोफेल, स्याट, आइ. एल्ट्स जस्ता कक्षाहरु लिएर आफूलाई व्यस्त राख्ने त चलनप्रथा जस्तै भएको छ । हुन त खाली समय भएर पनि होला कतिले यसको राम्रै उपयोग गरेको देखिन्छ भने कतिले यसलाई ‘समय मार्ने’ कामका रुपमा मात्र लिएको पनि पाइन्छ ।
विदेश गएर राम्रो शिक्षा हाँसिल गर्नु भनेको देशको लागि अनि स्वयं व्यक्ति विशेषका लागि पनि विकासको एउटा खुड्किलो पार गर्नु सरह हो । गुणस्तरीय शिक्षाका लागि पहिले देखि विदेश जाने चलन थियो । हिजो आज आएर यसको माग गुणस्तरीय शिक्षाको भन्दा पनि अनिवार्य परम्पराको बनेको छ, वा भनौँ फ्यासनको रुपमा यसले बढावा पाइरहेको छ । पढ्ने कुरालाई छायाँमा राखी देश बाहिर गएर पढ्नुलाई प्राथमिकताका रुपमा राख्न थालिएको छ । “के पढ्ने ?” भन्दा पनि “कुन देशमा गएर पढ्ने ?” प्रश्न मुख्य बन्दै गएको छ ।
पहिलेको सन्दर्भमा भन्नुपर्दा नेपालमा गुणस्तर प्रदान गर्ने विश्वविद्यालयको अभावमा विदेशीनुपर्ने बाध्यता नेपाली युवाहरुमा थियो । त्यसका लागि छात्रवृत्तिको परीक्षा दिएर, राम्रै छात्रवृत्ति पाएर जाने चलन थिया, तर हाल आएर यसको स्वरुपमा हल्का परिवर्तन भने पक्कै भएको छ । छात्रवृत्ति भन्दा पनि घरपरिवारबाटै रकम लिएर पढ्न जाने चलन बढेको छ । त्यस्तै सकारात्मक सोच बोकी विदेश पढ्न हिँडेका युवाहरु पढाइ भन्दा पनि पढाइका लागि चाहिने रकम जुटाउन दिन रात काम गरेर पढाइलाई छाड्न समेत पछि नपरेको घटनाबाट हामी चिरपरिचित नै छौँ ।
घर परिवारले विदेश पठाएर पढाउन सक्छन्, सक्दैनन्, थाहा छैन । तर, उसलाई घरको सीमाबाट पर रहेर पढ्न जानु छ । परिवारबाट पनि यस्ता प्रस्तावनालाई निकै सराहना गरिन्छ । “मेरो छोरा अमेरिकामा पढ्छ ।”, “अष्टे«लियाको सिड्नीमा छ मेरी कान्छी छोरी”, भन्न कसका आमा बुबालाई मन नलाग्ला र ? कति घरबाट त जबरजस्ती पनि पठाउने गरिएको छ । गर्वको विषय बनेको छ विदेशी पढाइ नेपाली घर परिवारका लागि आज ।
यसरी देशको युवा पुस्ता जसलाई हामी देशको मेरुदण्ड भन्ने गर्दछौँ, ती आज विदेश जान तत्पर मात्र देखिदैनन् बारु उनीहरु आफू वरपर रहेका सबैलाई नै लिएर जाने सोचमा हुन्छन् । विदेशी भूमिमा गएर त्यहाँको ज्ञान र सीप लिएर घर फिर्ता आए त एउटा कुरा, यहाँ त नफर्किने पो हो कि भन्ने पीर पर्न थालिसकेको अवस्था छ । नेपालमा पनि पढाइका लागि अहिलेको समयमा विभिन्न विश्वविद्यालयहरु नभएका भने होइनन् । आफूले रोजेको र खोजेको विषय पढ्न सजिलै पाउन सक्ने अवस्था आएको छ तर पनि विदेश नै पहिलो रोजाइ राख्नुमा विभिन्न कारणहरु हुनसक्छन् । तर वर्तमान अवस्थामा कक्षा बाह्रको परीक्षाको नतिजा प्रकाशनसँगै नेपाली भूमि छाडेर विदेशी भूमिमा पढ्न जानेको संख्या कति हुन्छ, हुँदैन त्यो हेर्न बाँकी नै छ । तर जान लाग्नुभएका साथीहरुमा यो अनुरोध त पक्कै गर्न सकिन्छ कि, त्यहाँको सीपलाई यहाँ आफ्नो भूमिमा सक्दो भित्र्याउनुहोला । अनि मात्र तपाईको विदेशी शिक्षा सही मान्यतामा उपयोगी सावित हुनेछ ।
No comments:
Post a Comment