


जेष्ठ १, शनिवार
काठमाडाँ विश्वविद्यालय, काभ्रे
भुईँमा लडिरहेका एक युवकको हालत देख्दा निकै नै अप्ठ्यारोमा रहेको जस्तो भान हुन्थ्यो । छेउछाउमा लगभग ५, ६ जनाको समूहले उक्त घाईतेलाई सहयोग गर्न लागे जस्तो देखिन्थ्यो । साधारण पहिरनमा दुई जना दिदिहरु रमाईलो पारामा केही सिकाइरहनु भएको थियो । यी दृश्यहरु हुन् काठमाडौँ विश्वविद्यालयमा हिजो र आज गरि केयू.आर्.सी.सी.(काठमाडौ विश्वविद्यालय यूवा रेडक्रस सर्कल) को आयोजनामा भएको २ दिने आधारभू्त प्राथमिक उपचार तालिमको । जहाँ तालिम लिनका लागि विद्यार्थी वर्गबाट २४ जना रहेका थिए भने तालिम दिनका लागि वनेपा रेडक्रसबाट जयन्ती थापा र शुभलक्ष्मी श्रेष्ठ गरी २ जना आउनुभएको थियो । तालिम हिजो शुक्रबार र आज शनिबार जेष्ठ १ गतेका दिन सम्म रहेको थियो ।
कहिले स्लाईडको सहाराले होस् त कहिले प्रशिक्षार्थीलाई भुईँमा लम्पसार पारेर नै होस्, सबैले प्राथमिक उपचार कसरी दिने भनेर सिकिरहेका थिए ।
“लौ खै त फोटो ?” आफ्नो स्लाइडमा फोटो नभेटिएपछि अचम्म पर्दै आधारभूत तालिम दिन आउनुभएको एक दिदिले यसरी भन्नुभयो । पछि अर्को स्लाईडबाट केही कुरा देखाउँदै उहाँले सिकाउँदै हुनुहुन्थ्यो । उपस्थित कतिले गहिरिएर सिको गर्दै थिए भने कतिले त्यसलाई निकै खल्लो महसुस गरेको पनि भान हुन्थ्यो । त्यसको सहज अनुमान कोही एकै ठाउँमा बसेर हेरिरहेको र कोही छिनछिनमा फोन उठाउने बहानामा बाहिर गएको दृश्यले प्रष्ट पाथ्र्यो । तर, जे होस् सबैको अनुहारमा, “म यो प्राथमिक उपचारको तालिम लिएपछि कसै न कसैलाई सहयोग गर्नेछु” भन्ने त्यो जोश चैँ देखिन्थ्यो है ।
एकै छिनको बसाईमा पनि धेरै कुरा सिकिने उक्त तालिमको अर्को रोमाञ्चक पक्ष भनेको रमाईलो पारामा केही सिक्नु रहेको थियो । ठट्यौली पारामा आफ्नो कार्यलाई निरन्तरता दिँदै जाँदा चिया लिएर एक जना दाजु आउनुभयो । चियापान सकिएपछि पुनः तालिम कार्य जारी रहन्छ । जारी गर्नु अघि फेरि दिदिले भन्नुहुन्छ, “चियापछिको नमस्ते, है सबैलाई” । त्यसपछि लगभग आधा घण्टाको प्रस्तुतीपछि उक्त तालिम समाप्त भएको घोषणा हुन्छ र ठीक पाँच दिन पछि केयूमै हुन लागेको अर्को कार्यक्रममा सहभागी हुनका निमित्त नाम संकलन गरिन्छ । कार्यक्रममा यो दुईदिने अवधिमा सिकिएको कुरालाई नाटकका रुपमा मन्चन गर्ने निर्णय हुन्छ र सबैजना मुस्कान सहित आ–आफ्नो बाटो लाग्छन् ।
केही गर्छु भनी हिँडेका यस्ता युवा पुस्ताको जोशलाई सराहना गर्न कोही पछि पर्नु हुँदैन । त्यसैले पनि हामी सबै मिलेर आउँदो बिहिवार केयूमा हुन लागेको रेडक्रसको कार्यक्रममा उपस्थित भई हौसला बढाउन मद्दत गर्नुहुन म हार्दिक अनुरोध गर्दछु ।
बाँकी फोटोहरुको लागि,, http://www.facebook.com/photo_search.php?oid=362601685296&view=all
No comments:
Post a Comment